प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कर्णाली नदीमा डोजर खस्यो, चालक फेला, सहचालक बेपत्ता

२०८१ पौष १३, शनिबार ०८:४१ बजे

काठमाडौं – कालीकोटको पचालझरना गाउँपालिका–८ चाटेबगरबाट वडा नं. ४ जारकोटतर्फ कर्णाली नदी पार गर्दै गर्दा डोजर दुर्घटना हुँदा सहचालक बेपत्ता भएका छन्। शुक्रबार बेलुका कर्णाली नदीमा डोजर तार्ने क्रममा डोजर अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो।

पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमका अनुसार डोजर चालकलाई नदीमा तैरिरहेको अवस्थामा स्थानीय र प्रहरीले सकुशल उद्धार गरेका छन्। डोजर चालक कालीकोट खाँडाचक नगरपालिका–८ का हुन्। सहचालक र डोजर भने अझै फेला परेका छैनन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बेपत्ता सहचालकको नाम र ठेगाना नखुलेको जानकारी दिए। उनले भने, “चालकको सकुशल उद्धार गरिएको छ, तर सहचालक र डोजरको खोजीकार्य जारी छ।”

स्थानीयबासी र प्रहरीको टोलीले नदीमा बेपत्ताको खोजी कार्यलाई तीव्र पारेका छन्।