काठमाडौं – जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।
जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा भीम सार्कीले अर्धशतकीय ईनिङ खेले । उनले १ सय १४ बलमा ७ चौका र १ छक्का सहित अविजित ७७ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए ।
दीपेन्द्र सिंह ऐरीले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ३९ रन बनाए । कप्तान रोहित पौडेलले २९ बलमा १६ रन, ओपनर आसिफ शेख १६ बलमा १२ रन, र कुशल मल्ल १३ बलमा १३ रन बनाए ।
पहिलो विकेटका लागि ओपनरआसिफ शेख र कुशल भुर्तेलले ३० बलमा २५ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । ओपनर शेख पाँचौ ओभरको अन्तिम बलमा सौरभ नेत्राभाल्करकको बलमा १६ बलमा १२ रन बनाउँदै एलबिडब्लु आउट भए ।
अमेरिकाका लागि नोस्तुषा केन्जिगे, सौरभ नेत्राभाल्कर, निशर्ग पटेल र स्टेभन टेलरले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो । अमेरिकाका लागि शायन जाहान्गिरले अविजित १ सय रन बनाएका थिए ।
वेस्ट इन्डिजसँगको खेलमा शतक बनाएका गजानन्द सिंह २६ रनमा आउट भएका थिए । सुशान्त ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए । निर्शग पटेलले ३४ रन र जसदिप सिंहले १२ रन जोडे ।
नेपालका लागि करण केसीले ४ विकेट लिए । उनले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिएका हुन् । गुलसन झाले ३, दीपेन्द्रसिंह ऐरीले २ विकेट र ललितनारायण राजवंशी १ विकेट लिएका थिए ।
आजको जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो भएको छ । जितसँगै २ अंकका साथ नेपाल समूह ए को तेस्रो स्थानमा उक्लिएको छ । अमेरिका भने पाँचौं स्थानमा झरेको छ । पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उता, अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।
नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।