प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाहिरबाट ताला लगाएर वडाध्यक्षको घरमा आगजनी

२०८० मंसिर १८, सोमबार १२:२९ बजे

काठमाडौं –धनकुटाको पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अपरिचित व्यक्तिले आगो लगाएका छन् । धनकुटाको पख्रिबास नगरपालिका डाँडाखर्कमा राति वडाध्यक्ष परिवारसहित सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट घरमा भएका लत्ताकपडा जलेका छन् । राति घरको माथिल्लो तलामा सुत्न गएपछि भुईँ तलाबाट माथिल्लो तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा भेला गरेर आगो लगाइएको गुरागाईँले बताए।

सुतिरहेको समयमा लुगा डढेको गन्ध आएपछि उठेर हेर्न खोज्दा ढिकमा चाबी लगाएको थाहा पाएर छिमेकीलाई बोलाएर चाबी तोडेर हेर्दा लुगा एक ठाउँमा राखेर आगो लगाइएको नजिकै ग्याँसको सिलिन्डर राखेको पाइएको उनले बताए ।

कसले आगजनी गरेको हो भन्ने कुराको पहिचान हुन नसकेको र सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।

धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने, ‘घटनाका विषयमा प्रारम्भिक छानिबन भइरहेको छ । अहिले नै यसै हो भन्न सक्ने अवस्था छैन । हामी अनुसन्धानका क्रममा छौं।’