प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाका पसलमा भेटिए म्याद गुज्रिएका सामाग्री, अनुमति बिना व्यवसाय गर्ने पनि उत्तिकै

२०७९ श्रावण २५, बुधबार १५:१२ बजे

हेटौंडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयोजनमा हेटौंडा उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका पसल तथा व्यवासायहरु अनुगमन गरेको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका, उद्योग बाणिज्य संघ मकवानपुर, उपभोक्ता सित संरक्षण मञ्च सहितको पाँच वटा टोलीले हेटौंडा उपमहानगरभित्र सञ्चालित ५४ वटा व्यवसायिक पसल अनुगमन गरेको हो ।

अनुगमनको क्रममा अनुमति विना व्यवसाय सञ्चालन गर्ने, म्याद गुज्रिएका बस्तु बिक्री वितरणको लागि राखिएको, होटलमा अखाद्य बस्तु प्रयोग, अस्पतालले क्षमता भन्दा बढी बेड राखेको, होटल व्यवसायमा सरफाई नभएको, अस्वस्थ खानेपानीको प्रयोग भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी(प्रजिअ) गैह्रेले बताए ।

गैह्रेका अनुसार बुधबार हेटौंडाका होटल स्वीट्स एण्ड फाष्टफुड ११, हार्डवेयर पसल १०, फेन्सी ९, अस्पताल तथा स्वास्थ्य संस्था ६, चल्ला तथा दाना पसल ५, मासु पसल ६ , भेटनरी औषधी ३, सुपरमार्केट तथा गोदाम घर २, मोवाइल र डेरी पसल एक–एक वटा अनुगमन गरिएको थियो ।

बजार अनगुमन क्रममा मापदण्ड विपरिद व्यवसाय सञ्चालन तथा बस्तु खरिद बिक्री गर्ने व्यवासायिक पसलहरुलाई जरिवान समेत गरिएको छ । आँगन स्वीट्स एवं फाष्टफुड र राजधानी स्वीट्सलाई २०–२० हजार, इ.टि.सी. जनरल सप्लायर्सलाई १५ हजार, न्यू यु एण्ड आई सु–सेन्टरलाई १० हजार र अल्फा डेन्टललाई ५ हजार जरिवान गरिएको सहायक प्रजिअ गैह्रेले बताए ।

अनुगमन टोलीले अनुमति बिना व्यवसाय सञ्चालन गर्ने एक पोलिक्लिनिक, एक भेटनरी औषधी पसल र एक डेन्टल बन्द गराएको छ । त्यस्तै दर्ता तथा अनुमति नलिएका व्यवसायलाई १ हप्ताभित्र अनुमति तथा दर्ता प्रक्रिया पुरा गर्न, होटलमा रहेको समस्या सुधार गर्न र अस्पतालाई बेड स्वीकृत लिन निर्देशन दिइएको सहायक प्रजिअ गैह्रेले बताए । अनुगमनमा भेटिएका म्याद गुज्रिएका सामाग्रीहरु नियन्त्रणमा लिएर नष्ट समेत गरिएको उनले बताए ।

गुणस्तर परिक्षणको लागि भाटभटेनी सपुरमार्केटबाट दुई वटा तेलको नमुना समेत लिइएको सहायक प्रजिअ गैह्रेले बताए । त्यस्तै शिवशक्ती सप्लायर्समा बिक्रीको लागि राखिएको चामल कम तौलको भेटिएपछि ११२ चामल अर्को आदेश नआएसम्म बिक्री वितरणमा रोक लगाईएको छ ।