हेटौंडा – हेटौंडा मेयर कप राष्ट्रव्यापी खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका चेस च्याम्पियन रुपेश जैसवालले जितेका छन् । हेटौंडास्थित होटल स्मारकमा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गरेका जैसवालले नगद एक लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा दोस्रो सुरवीर लामा, तेस्रो हेटौंडाका अनिल राजबाहक, चौथो विलमलाल श्रेष्ठ, पाँचौं सुस्रत दाहालले क्रमशः ५० हजार, २५ हजार र २०÷२० हजार प्राप्त गरेका छन् । त्यस्तैछैटौंदेखि दशौं स्थानसम्मका क्रमशः पुरुषोत्तम चौलागाईं, कृष्ण थापा, क्षितिज भण्डारी, निकेन कुसाथा तथा श्रीलंकाकी एसडी रणसिङ्गेले जनही १५ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको बेस्ट लोकल सुन्दर कार्की, बेष्ट महिला खेलाडी सिन्धिरा जोशी, बेष्ट भेट्रान नवीन ताण्डुकार, बेष्ट यू–१२ अबिन पाण्डे, बेष्ट यू–१४ आयुष डेमनदौरा, यू–१६ तर्फ पुरुषोत्तम सिलवाल, यू–१८ तर्फ रिसोन थापा विजयी हुँदा बेष्ट अनरेटेडमा रुपेशप्रसाद पालिखेल, बेष्ट रेटिङ १४०० मा सुजन कुमाल, बेष्ट रेटिङ १६०० मा निशान श्रेष्ठ तथा १८०० मा खोमप्रसाद तिमल्सिना घोषित भए। उनीहरुले जनही १०/१० हजार नगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका, मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेता जैसवाल सहित २१ जनालाई पुरस्कार प्रदान गरिएको छ । विधागततर्फ ११ र खुल्ला प्रतिस्पर्धातर्फ १० गरी २१ जनालाई पुरस्कार प्रदान गरिएको हो ।
उनीहरुलाई बागमती प्रदेशकी समाजिक विकासमन्त्री कुमारी मोक्तानले पुरस्कार वितरण गरिन् । उनले चेस खेललाई बागमती प्रदेशको पाठ्यक्रममा समावेश गर्ने सुझावको आधारमा चेससँग सम्वन्धित संघसस्थाहरुसँग समन्वय गरिने बताइन् । चेस खेलको विकासको लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग हुने समेत उनले बताइन् ।