प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

एक लाख ४१ हजारको मनोनय दर्ता, कुन पदमा कति ?

२०७९ बैशाख १३, मंगलबार ०४:५१ बजे

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान साढे १० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार ३१८ र उपप्रमुखमा दुई हजार ३६ जनाको मनोनयन दर्ता भएको छ ।

यस्तै पालिका अध्यक्षमा तीन हजार ३०६ र उपाध्यक्षमा दुई हजार ३४३ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र वडा सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।