प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पशुपतिनाथ माविका बालबालिकाको कान परीक्षण

२०८० मंसिर ९, शनिबार १९:०९ बजे

हेटौंडा – मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका बालबालिका र अभिभावकको कान परीक्षण शिबिर सम्पन्न भएको छ । अन्तराष्ट्रिय संस्था किवानिज क्लब मकवानपुरको आयोजनामा विद्यालयमा अध्ययन गर्ने बालबालिकाको कान परीक्षण शिबिर संचालन गरेको हो ।

किवानिज क्लब मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई पालिकाले सघाउने बताए । मानिसका लागि आँखा, कान, मुटु जस्ता महत्वपूर्ण अंगको अवस्थाबारे समयमै जानकारी लिन सके भबिश्यमा ठूलो नोक्सानी हुनबाट जोगिाउने बताउँदै अध्यक्ष कालाखेतीले भने–‘यस्तो शिबिर मनहरी गाउँपालिकामा रहेका ३२ वटै विद्यालयमा गर्नु जरुरी छ ।’

गाउँपालिकाले शिक्षा र स्वाथ्यलाई बिशेष प्राथमिकताका साथ काम गरिरहेको भन्दै अध्यक्ष कालाखेतीले विद्यालयमा पठनपाठनका साथै यस्ता शिबिरले बालबालिकालाई स्वस्थ्य रहन सहयोग पु¥याउने बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले बालबालिकालाई आफ्नो कान कमजोर छ भन्ने कुरा थाहा नहुने भएकोले शिबिर संचालन गरिएको बताए । शिबिरमा नेपालगंजस्थित आइडियल फर्मासिटिकल्स प्रालिले औषधि सौजन्य गरेको किवानिज क्लबका मकवानपुरका संस्थापक अध्यक्ष पराजुलीले जानकारी दिए ।

कार्यक्रममा वडाअध्यक्ष प्रकाश थापा, साहित्यकार तथा सेवानिबृत्त शिक्षक हयग्रीव आचार्य, किवानिज क्लब मकवानपुरका सचिव भीमप्रसाद फुँयाल (दिनेश)लगायतले बालबालिकाको आँखा, कान जस्ता अंगको परीक्षण गर्ने शिबिरको आयोजना गरी विद्यालयले पुण्यको काम गरेको बताए । गाउँपालिका अध्यक्ष कालाखेतीको कानको परीक्षण गरी सुरुवात गरिएको शिबिरमा करिब दुई सय ५० जना बालबालिका तथा अभिभावकको कानको परीक्षणका साथै निशुल्क औषधि बितरण गरिएको थियो ।

शिबिरमा हेटौंडा अस्पतालका नाक, कान, घाँटी बिशेषज्ञ डा. अनुप सञ्जेलले कानको परीक्षण गरेका थिए । कार्यक्रममा किवानिज क्लब मकवानपुरका कोषाध्यक्ष शम्भु घर्ती, लायन्स क्लब अफ गुल्मोहर काठमाडौंकी सकुन्तला बस्नेत, किवानिज क्लब मकवानपुरका सदस्य शारदा भुजेल, दिपेश अधिकारी, मनहरी गाउँ कार्यपालिका सदस्य मीरा खत्री, विद्यालय ब्यवस्थापन समितिका सदस्य सीता नेपाली, कल्पना कार्की, मुकुन्द सुबेदी, विद्यालयका शिक्षकहरुलगायतको सहभागिता रहेको थियो ।

यसैबीच पशुपतिनाथ माविबाट २०७९ को एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल छात्र रितेश बिष्ट र छात्रा पार्वती तितुङलाई जनही ११ हजार पाँच सय रुपैयाँका दरले छात्रबृत्ति रकम पनि प्रदान गरिएको थियो । पशुपतिनाथ माविका पूर्वप्रधानाध्यापक समेत रहेका तीर्थराज पराजुलीले आफ्नो मातापीता शिबकुमारी, रामजीप्रसाद पराजुलीको स्मृतिमा स्थापना गरेको कोषबाट दुई जना उत्कृष्ठ छात्रछात्रालाई रकम प्रदान गरिएको हो । बिगत ३ वर्षदेखि पराजुलीले यो विद्यालयमा छात्रबृत्ति प्रदान गर्दै आएका छन् ।