प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनिल बलको निर्णयक गोलमा संकटालाई उपाधि, सुनिलनै 'मोस्ट भ्यालुएबल प्लेयर' खेलाडी घोषित

२०७९ पौष २३, शनिबार १०:५७ बजे

पोखरा – सुनिल बलको निर्णयक गोलमा २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटा फुटबल क्लबले जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई ३–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो ।

रोमाञ्चक फाइनल खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको खेल अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटाले उपाधि जितेको हो ।

संकटाले दोस्रो पटक आहा १ रारा पोखरा गोल्डकपको उपाधि जितेको हो । खेलको ८ औँ मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।

३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा रेने सान्टिलोनले र इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटनीजलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

अतिरिक्त समयको ११७ औं मिनेटमा सुनिलले गोल गरे । बाँकी समयमा थप गोल नभएपछि संकटालाई उपाधि दिलाउन सुनिलकै गोल निर्णयक बन्यो ।

प्रतियोगिताको विजेताले संकटाले १२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता भुटनीज युथले ६ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगिताको 'मोस्ट भ्यालुएबल प्लेयर' खेलाडी संकटाकै सुनिल बल घोषित भए । उनले इलोक्ट्रोनिक स्कुटर प्राप्त गरे ।

प्रतियोगिताका संकटाका बेष्ट मिडफिल्डर आयुष घलान, संकटाकै वेष्ट गोलकिपर टेकेन्द्र थापा र बेष्ट स्ट्राईकर संकटाकै स्टिफन बिनोङ्ग घोषित भए । उनिहरुले ट्रफि सहित नगद प्राप्त गरेका छन् ।

प्रतियोगितामा साबिक विजेता एपिएफ फुटबल क्लबसहित १० टोलीको सहभागिता छ ।