प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एसिया कप क्रिकेटमा आज नेपाल र पाकिस्तान भिड्दै

२०८० भाद्र १३, बुधबार ०२:०७ बजे

काठमाडौं – एसिया कप क्रिकेटको उद्घाटन खेलमा आज बुधबार नेपाल र पाकिस्तान भिड्दैछन् । मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सूरु हुनेछ ।

विश्व वरीयताको नम्बर वान टोली पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यू गर्दैछ । नेपालले पाकिस्तानसँग पहिलो पटक खेल्न लागेको हो । पाकिस्तान विश्व नम्बर एक ब्याट्सम्यान बाबर आजमको नेतृत्वमा मैदान उत्रनेछ भने नेपाली क्रिकेट टिमलाई रोहित पौडेलले नेतृत्व गर्नेछन् ।

गत अप्रिल–मेमा नेपालमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको थियो । यसअघिको एसिया कपमा युएई र हङकङले खेलेको थियो ।

एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तान वर्तमान समयमा आइसीसी ओडिआई वरियतामा शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । नेपाल आइसीसीको ओडिआई विश्व वरियतामा १५ औं स्थानमा छ ।

नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलङ्काको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा नै हुनेछ ।