हेटौंडा – प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
झापा भद्रपुर नगरपालिका–५ मेचीपुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर १६ ग्राम ८ सय मिलिग्राम र नगद ५ हजार ७५ रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका–१ बस्ने ३४ वर्षीया मञ्जु चापागाई रहेका छन् ।
शुक्रबार बिहान प्रहरी बिट मेचीपुल र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१३ प १९७३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–५ बन्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोईन ४ ग्राम ४१ मिलिग्रामसहित सोही नगरपालिका–१० शिवनगर बस्ने २३ वर्षीय विवेक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मैनाहाबाट भकुण्डातर्फ जाँदै गरेको सु.प.प्र.०१–०११ प ५००४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धादिङको गल्छी गाउँपालिका–४ मासटारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित गजुरी गाउँपालिका–८ किरानचोक बस्ने ३४ वर्षीय बीर बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।