प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालको इतिहासकै फराकिलो जितमा बने यस्ता ठुला कीर्तिमानहरु

२०८० आश्विन १०, बुधबार ०७:०५ बजे

हेटौंडा – नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको पराकिलो जित हात पार्दा आधा दर्जन बढी किर्तिमान बनाएको छ । हान्जाओमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेको मंगोलियाविरुद्ध पहिला नेपालले ब्याटिङ्ग गरेको थियो ।

निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा नेपालले ३१४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो । मंगोलियालाई सस्तैमा समेट्न करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिएका थिए ।

मंगोलियाका दावासुरेन जामयान्सुरेनले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।  मगोलियाका ५ खेलाडी शुन्य रनमै आउट भएका थिए । तीन खेलाडीले मात्र १ रन जोड्न सकेका थिए । 

पहिला व्याटिङ गरेका नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रन रोडेका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ६१ र दिपेन्द्र सिंह ऐरीले ५२ रन बनाएका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए । 

टि२० आई क्रिकेट इतिहासमा सर्वाधिक योगफल
नेपालले मंगोलियामाथि बनाएको ३१४ रनको योगफल टि२० आई क्रिकेट इतिहासकै सर्वाधिक उच्च स्कोर हो । यसअघि टि२० आईमा उच्च योगफल अफगानिस्तान र चेक रिपब्लिकनको नाममा समान २ सय ७८ रन थियो । यसअघि टि२० आईमा नेपालले २०२१ मा मलेसियाविरुद्ध २ सय ३८ रन बनाएको थियो । 

कुशल मल्लको एतिहासिक शतक
मंगोलियाविरुद्ध नेपालका कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेलेका थिए । जसमा कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । सो शतक टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक हो । कुशलले टी ट्वान्टी अन्तराष्ट्रियमा सबैभन्दा चाँडो शतक प्रहार गर्ने कीर्तिमान समेत आफ्नो नाममा लेखाएका छन् । यसअघि टि२० आईमाभारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

दिपेन्द्र सिंह ऐरी छिटो अर्धशतक
नेपालका मध्यक्रमका व्याटर दिपेन्द्र सिंह ऐरीले मंगोलियाविरुद्धको खेलमा उनी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहेका थिए । ऐरीले ९ बलमै अर्धशतक बनाउने कीर्तिमान कायम गरेका छन् । यससंगै उनी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि यो रेकर्ड भारतीय ब्याटर युवराज सिंहको नाममा थियो । उनले टि२० आईमा २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक हानेका थिए ।

उच्च साझेदारी
कुशल मल्ल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो । यसअघि नेपालका कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्धको खेलमा १७१ रनको साझेदारी गरेका थिए । टि२० आईमा तेस्रो विकेटका लागि भने विश्व कीर्तिमान साझेदारी हो । यसअघि तेस्रो विकेटका लागि २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेस्टइन्डिजविरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए।

एकै खेलमा सर्वाधिक छक्का
नेपालले मंगोलियाविरुद्ध ३१४ रनको योगफल बनाउँदा २७ वटा छक्का प्रहार गरेको थियो । जसमा कुशल मल्लले १२, दिपेन्द्र सिंह ऐरीले ८ र रोहित पौडेलले ६ छक्का प्रहार गरेका थिए । जुन टि–२० आईको एकै खेलमा सर्वाधिक प्रहार भएको छक्का हो । यसअघि सबैभन्दा बढी छक्का रेकर्ड २२ रहेको थियो । जुन अफगानिस्तानले आयरल्याण्डविरुद्ध २२ वटा छक्का प्रहार गरेको थियो ।

टि२० आई इतिहासकै फराकिलो जित
नेपालले मंगोलियाविरुद्ध प्राप्त गरेको २७३ रनको सफलता टि२० आई इतिहासकै फराकिलो हो । यो टि२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात पारेको थियो ।

एसोसिएटमा कुशलको दुई किर्तिमान
टि–२० आईमा कुशल मल्लको ५० बलमा १३७ रन एसोसिएट राष्ट्रका खेलाडीले ब्यक्तिगत सर्वाधिक रन हो । टि–२० आईमा एसोसिएट राष्ट्रका कुनै पनि खेलाडीले १३७ रन बनाउन सकेको छैन । त्यस्तै टि–२० आईमा एसोसिएट राष्ट्रका सर्वाधिक छक्का हान्ने रेर्डक समेत कुशलकै नाममा रहेको छ । उनले मंगोलियाविरुद्धको खेलमा १२ छक्का प्रहार गरेका थिए । टि–२० आईमा एसोसिएट राष्ट्रका कुशल मल्ल बाहेक कुनै खेलाडीले एकै खेलमा १२ छक्का प्रहार गर्न सकेको छैन ।

उच्च रन रेट
मंगोलियाविरुद्ध ३१४ रन बनाउँदा नेपालको रनरेट १५ दशमलव ७ थियो । अर्थात प्रतिओभर सरदर रन १५ दशमलव ७ । जुन टि२० आईको इतिहासमा सर्वाधिक रन रेट हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनको सर्वाधिक रनरेट थियो । आयरल्याण्डविरुद्ध अफगानिस्तानले २७८ रन बनाउँदा १३ दशमलव ९ को रन रेट थियो ।

दिपेन्द्रको किर्तिमानी स्ट्राइक रेट
५० रनको आकडा पार गर्ने खेलाडी मध्ये सबैभन्दा धेरै स्ट्राइक रेट समेत दिपेन्द्रकै नाममा रहेको छ । १० बलमा ५२ रन बनाउँदा दिपेन्द्रको ५२० को स्ट्राइक रेट रहेको छ । यति धेरै स्ट्राइक रेटमा क्रिकेट इतिहासमा कुनै खेलाडीले ५० रनको आकडा पार गर्न सकेको छैन ।

नोटः नेपाल र मंगोलियाबीच खेलमा बनेका अन्य किर्तिमान छन् भने कमेन्ट बक्समा राख्न सक्नु हुनेछ ।