प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यूएईसँग नेपाल पराजित

२०७९ फाल्गुन १८, बिहीबार १२:४५ बजे

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा यूएईले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभर ५ बलमा १ सय ३९ रन बनाउँदै अलआउट भयो ।
नेपालका लागि ५३ बलको सामना गरेका कुशल मल्लले ९ चौका र एक छक्कासहित ६० रनको अर्धशतकीय इनिङ खेले।

यस्तै, ओपनर आसिफ शेखले १७ र सन्दीप लामिछानेले अविजित २६ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यूएईका रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान ३÷३ तथा जुनेद सिद्धिकी २ विकेट लिए । जाहोर खान र सबिर अलिको नाममा समान १र१ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनायो । यूएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाए । रोहन मुस्ताफले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेल्दा आर्यन लाक्राले २८ रन, कप्तान सीपी रिजवानले २२ र वृत्य अरबिन्द १८ रनमा जोडेका थिए ।

नेपालका लागि सन्दीप लामिछाने ३ विकेट लिए । करण केसी,कुशल मल्ल र आरिफ शेखको नाममा समान १र१ विकेट रह्यो ।

बाँकी ६ खेलमा जित निकाले मात्रै नेपालले १२ अंक जोड्दा नामिबियालाई उछिन्ने छ। नेपालको अहिले २८ अंक छ। नामिबियाको ३९ अंक छ।

स्कटल्यान्ड यसअघि नै लिग २ च्याम्पियन बनिसकेको छ भने ओमानले पनि दोस्रो स्थान सुरक्षित गरिसकेको छ। नेपालले भोलि पपुवा न्युगिनीसँग र सोमाबर यूएईसँग यो शृंखलाको अन्तिम एकदिवसीय खेल्नेछ।

मार्च ९ देखि कीर्तिपुरमा नेपालले लिग २ को अन्तिम शृंखलाको आयोजना गर्नेछ। अब एउटा मात्रै खेलमा पराजित भए पनि नेपालको शीर्ष तीनमा पुग्ने सम्भावना समाप्त हुनेछ। यस्तै, एकदिवसीय शृंखला जोगाउन पनि शीर्ष पाँचमा पुग्नुपर्ने दबाब छ।