प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

‘विकास र समृद्धिको यात्रामा वर्तमान गठबन्धन बाधक’

२०७९ श्रावण २९, आईतबार ०८:४४ बजे

काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भारत प्रवासमा रहेका नेपालीहरूलाई आगामी आम निर्वाचनमा मतदानका लागि स्वदेश फर्कन, देश र जनताको हितको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

महासचिव पोखरेलले प्रवासी नेपाली संघ भारतको शनिबार पञ्जावमा आयोजित विस्तारित बैठक तथा अन्तर्क्रियालाई भर्चुअल सम्बोधन गर्दै भारतमा रहेका लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा स्वदेश फर्कनका लागि त्यहाँको संगठनलाई पहल गर्न निर्देशन दिए ।

महासचिव पोखरेलले भने– भारत प्रवासमा लाखौं मतदाता हुनुहुन्छ । नेपालमा सामाजिक न्याय, विकास र समृद्धिका लागि उहाँहरूको मतको ठूलो महत्व रहन्छ । त्यसैले तपाईं प्रवासी नेपाली संघमा संगठित साथीहरूले उहाँहरूलाई मत सदुपयोगका लागि ‘कन्भिन्स’ गर्ने काम गर्नुपर्छ ।

यतिवेला मुलुकमा समाजवादतर्फको यात्रामा नेपाली काँग्रेस बाधकका रूपमा रहेको र त्यसकै पछि लागेर माओवादी केन्द्र र एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनमा घात गरेको हुँदा भारत प्रवासमा रहेका नेपालीलाई एमालेको पक्षमा ल्याउन योजनाबद्ध अग्रसरता देखाउन महासचिव पोखरेलले आग्रह गरे ।

नेपालमा दुई प्रमुख दल नेकपा (एमाले) र नेपाली काँग्रेसममध्ये नेपाली काँग्रेसले दलाल, नोकरशाही, पुँजीपति वर्गको सेवा र एमालेले सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने चर्चा गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनले राज्यसत्तामा कुन वर्गको प्रतिनिधित्व हुने भन्ने निर्धारण गर्ने हुँदा मतदानको अवसर नछुटाउन आग्रह गरे ।

महासचिव पोखरेलले विकास र समृद्धिको यात्रामा वर्तमान गठबन्धन बाधक रहेको वताए । उनले प्रवासमा रहेका नेपालीले पञ्चायत विरोधी आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै धन्यवाद व्यक्त गरे । उनले आम निर्वाचनका लागि पार्टीको घोषणापत्रमा राख्नेगरी प्रवासी नेपालीका समस्या लगायत सुझाव पठाउन आग्रह गरे। उक्त विस्तारित बैठकमा पार्टीका तर्फबाट अतिथिका रूपमा सहभागी हुन स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी जाएका छन् ।