हेटौंडा – बागमती प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट बुधबार सदनमा पेस गर्दै छ । आज दिउसो ४ बजे प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । सरकारले नजिकिँदै गरेको संघीय र प्रादेशिक चुनावलाई लक्षित गरेर ठूलो आकारको बजेट ल्याउने लागेको छ । चालु आर्थिक वर्षको तुलनामा १० अर्बभन्दा बढाएर बजेट ल्याउने तयारीमा प्रदेश सरकारको छ ।
चालु आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड रुपैयाँको बजेट प्रदेशले ल्याएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार संघ र प्रदेशको निर्वाचनको मिति तोकिन लागेको अवस्थामा ल्याउन लागेको बजेटमा कार्यकर्ताबाट माग भएर आएको सम्पूर्ण योजना समेट्न सत्तारूढ दलहरूले दबाब दिइरहेका छन्, जसको कारणले पनि बजेटको आकार बढ्न लागेको हो ।
‘७० अर्बसम्म पनि बजेटको आकार पुग्न सक्छ । अझै पनि योजना थपघट भइरहेका छन्,’ मन्त्रालयका एक कर्मचारीले भने । प्रदेश सरकारले जेठ १६ गते नीति तथा कार्यक्रममा समेटिएको विषय र केही योजना थप गरी बजेट ल्याउन लागेको हो । चालु आवमा पनि एमाले नेतृत्वको सरकारले गत आव ०७७–७८ मा भन्दा ६ अर्ब बढाएर बजेट ल्याएको थियो ।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख र पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख बजेट ल्याइएको थियो । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समाजवाद उन्मुख कार्यक्रम समेटर नयाँ बजेट गत वर्षको तुलनामा १० अर्बभन्दा बढी थपेर ल्याउने विभिन्न सार्वजनिक कार्यक्रममै बताइसक्नु भएको छ । प्रदेश सरकारलाई केन्द्रबाट प्राप्त गर्ने अनुदान बढेको, चालु आर्थिक वर्षको बजेट खर्च असाध्यै कमजोर रहेको, सरोकारवाला पक्षबाट ५ प्रतिशतभन्दा बढी बजेट बढाउन सक्ने सुझाव सरकारलाई दिएका कारण पनि बजेटको आकार बढ्ने भएको हो । प्रदेशलाई संघबाट ११ अर्ब रुपैयाँ अनुदान पाउने भएको छ । पाँचदलीय गठबन्धन सरकारमा मन्त्रालय संख्या दोब्बर भएकाले पनि बजेटको आकार बढ्नुपर्ने अवस्थामा सरकार छ । चालु आवको बजेट ल्याउँदा ७ वटा मन्त्रालय रहेको वाग्मतीमा हाल १४ मन्त्रालय छ ।
यसवर्ष सांसदलाई बजेट नबाँडिने स्रोतले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सांसदको तजबिजमा खर्च गर्ने गरी प्रत्यक्ष निर्वाचितलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । आगामी वर्षको बजेटमा नीति तथा योजना आयोगबाट सिफारिस भएको योजनालाई पनि समेट्ने जनाइएको छ । प्रदेशमा साढे ३ वर्ष एमाले नेतृत्वको सरकार बहिर्गमनसँगै बनेको गठबन्धन सरकारले ल्याउने बजेटप्रति सबैको चासो छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलका अनुसार यस पटक विशेषगरी शिक्षा र स्वास्थ्यलाई जोड दिएर बजेट ल्याइने बताउनुभयो ।
हामीले केही विषय र योजनाहरूलाई प्राथमिकताका साथ अघि सारेका छौं । हामीले उच्च शिक्षासम्बन्धी विद्येयक पारित गरेका छौं । र, यो बजेटमा हामी आफ्नै विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने योजनालाई सार्छौं । यो प्रदेशमा पोल्ट्री व्यवसाथ असाध्यै फष्टाएको व्यवसाय हो, यहाँ धेरैले कुखुरापालन गरेका छन् । तर, यसलाई व्यवस्थित गर्न छुट्टै ऐन बनाएर पोल्ट्री विकास बोर्ड गठन गर्ने तयारीमा प्रदेश सरकार लागेको छ । हामीसँग दुग्ध विकास बोर्ड छ । यहाँ ११ हजार प्रारम्भिक सहकारी छन्, यसलाई व्यवस्थित गर्न भूमि विकास तथा सहकारी मन्त्रालय बनाएको छ । अब पोल्ट्रीलाई पनि जोड दिन लागिएको बताइएको छ ।
प्रदेश सरकारले ‘नमुना वडा समाजवादी कार्यक्रम’ सुरु गर्ने भएको छ । संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण लेखेका कारणले यो कार्यक्रम सुरु गर्ने सोच हो । यो कार्यक्रमले शिक्षा, स्वास्थ्य र सरसफाई तथा विभेदको अन्त्य र रोजगारी सिर्जना गर्ने कुरामा जोड दिन्छ । वडा–वडाबाटै सभ्य समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो । यस्तै, हेटौंडा अस्पताललाई मिर्गौला प्रत्यारोपण अस्पतालको रुपमा निर्माण गर्ने हाम्रो योजना रहेको बताइएको छ ।
प्रदेश सरकारले १० हजार युवालाई तीन महिनासम्म सीप सिकाउने र नेपालमै महिनामा ५० हजार कमाउन सक्ने बनाउने योजना ल्याउँन लागेको बताएको छ । विपद्को हिसाबले पनि हाम्रो प्रदेश जोखिमपूर्ण अवस्थामा छ । त्यसैले, यहाँका ११२१ वडाहरूका युवालाई समेटेर हामी स्वयंसेवक तालिका सञ्चालन गर्ने तयारी गरिएको छ । प्रदेश सरकारले खरको छानो उन्मूलन कार्यक्रम अघि सारेको छ । वनकरिया, सुरेल, जिरेल, हायु, गन्धर्वलगायत थोरै संख्यामा रहेका जातिहरूलाई रोजगारीसँग जोड्ने, बिनाब्याज ऋण दिनेलगायत कार्यक्रम छन् । बजेटमा यी नै कार्यक्रमहरू समेटिनेछन् । जनपत्रबाट