प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तीन घर फोड्ने, सामान चोर्ने हेटौंडाका बम्जन पक्राउ

२०८० असार १३, बुधबार १४:१२ बजे

हेटौंडा – काठमाडौंको कीर्तिपुरमा तीन घरमा चोरीमा संलग्न हेटौंडाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका– १८ घर भएका २२ बर्षीय प्रताप बम्जन रहेका छन् ।

प्रहरी वृत्त कीर्तिपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार विहान तीन बजे कीर्तिपुर नगरपालिका–८ पाँगा लाछीबाट बम्जनलाई पक्राउ गरेको हो। विहान तीन बजे शंकास्पद रूपमा हिँडडुल गरिरहेका बम्जनलाई पक्राउ गरी खानतलासी गर्ने क्रममा उनको साथबाट दुईवटा ल्यापटप, दुई हजार रकम, सामसुङ, रियलमी र आइफोन गरी तीनवटा मोबाइल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार उनले बोकेको झोलाबाट च्यानल गेट र झ्याल फुटाउन प्रयोग हुने एल आकारको दुवैतिर चुच्चो भएको १ फिट ८ ईन्च लम्बाई, ८ ईन्च गोलाई भएको फलामको रड समेत बरामद गरेको छ । बरामद गरेको सामान प्रारम्भिक सोधपुछ गर्दा उनले कीर्तिपुर वडा नम्बर ८ अन्तर्गतमा २ देखि ३ बजेभित्र तीनवटा घरमा चोरी गरेको खुल्न आएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।