प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बालिकालाई यौनजन्य काममा लगाएको आरोपमा गेस्ट हाउसका म्यानेजर तामाङ पक्राउ

२०८० पौष ६, शुक्रबार १५:५९ बजे

काठमाडौं – बालिकालाई यौनजन्य काममा लगाएको आरोपमा प्रहरीले एक गेस्ट हाउसका म्यानेजरलाई पक्राउ गरेको छ। काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा म्यानेजरको काम गर्ने नुवाकोट तादी गाउँपालिका–६ का २४ वर्षीय सुमन तामाङलाई मानव बेचबिखन ब्युरोको टोलीले पक्राउ गरेको हो।

तामाङ म्यानेजर रहेको उक्त होटलबाट चार जना बालिकालाई पनि उद्धार गरिएको ब्युरोका प्रवक्ता कृष्णप्रसाद पगेनीले जानकारी दिए। उद्धार गरिएका बालिकाहरू १४, १६, १७ र २० वर्षका छन्। उनीहरूलाई होटलमा वेटरको काम लगाइदिन्छु भन्दै ललाइ फकाइ ल्याएर यौनकार्यमा लगाएको पाइएको एसपी पगेनीले बताए।

‘चार बालिकाहरूलाई लाइनमा राखेर ग्राहकलाई रोज्न लगाइँदो रहेछ,’ एसपी पगेनीले भने, ‘अर्कै गेस्ट हाउसबाट बोलाए पनि पठाइदिने गर्दा रहेछन्।’ यसरी ५र६ महिनादेखि नै ती बालिकाहरूलाई यौनजन्य काममा लगाएको पाइएको एसपी पगेनीले जानकारी दिए। उनीहरूलाई त्यस्तै कामका लागि अन्य गेस्ट हाउसमा जानबाहेक त्यहाँबाट बाहिर जान नदिने गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

अत्यन्त अमानवीय र जघन्य अपराध भएकाले यसबारे ब्युरोले गम्भीरतापूर्वक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने एसपी पगेनीले बताए। प्रहरीले होटल सञ्चालको खोजी गरिरहेको छ। म्यानेजर पक्राउ परेपछि सञ्चालक फरार रहेको एसपी पगेनीले जानकारी दिए।

पक्राउ परेका म्यानेजरलाई भने जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।