हेटौंडा – हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण तथा डायलासिस सेवा विस्तारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। मंगलबार हेटौंडा अस्पतालमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, स्वास्थ्य मन्त्री निमा लामासहीतको उपस्थितिमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
अस्पतालमा सेवा विस्तार गर्ने अभियान अनुसार बागमती प्रदेश सरकारको सहयोगमा मृगौला अङ्ग प्रत्यारोपण गर्नका लागि पनि संझौता पत्रमा हस्ताक्षर गरिएको हो । संझौता भएसंगै काम पनि तत्काल अगाडी बढाइने बताउँदै प्रदेशका मुख्यमन्त्री पाण्डेले काम गर्ने इच्छा सक्ति हुँदा पैसाको कुनैपनि अभाव हुन नदिने बताए । त्यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशीले हेटौंडा अस्पतालमा सम्झौता कार्यान्वयनमा आएपछि धेरैलाई सेवा दिनका लागि सहज हुने बताए ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुष्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशी र हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटाले सम्झौतापत्रका हस्ताक्षर गरेका छन् । मृगौला प्रत्यारोपन केन्द्र स्थापना गर्न बागमती प्रदेश सरकारले ८ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

