गोरखा – प्रतिनिधि सभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाको दुर्गम चुमनुब्री गाउँपालिकामा झण्डै एक साता हिँडेर मतदान अधिकृत, कर्मचारी सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन्।
चुमनुब्री गाउँपालिका–१ को सामागाउँको साम्दो पुग्न झण्डै एक हप्ता लाग्ने गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। विकट चुमनुब्री गाउँपालिकामा २२ वटा मतदान केन्द्र छन्।
जिल्लाभित्र निर्वाचनलाई निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तीन वटा घेरामा सुरक्षा संयन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिए। हरेक मतदानस्थलमा पाँच जना र मतदान केन्द्र दुई वटा भए थप दुई जनाका दरले नेपाल प्रहरी परिचालन गरिएको उनले बताए।
'मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ, प्रमुख जिल्ला अधिकारी आर्चायले भने', 'त्यसभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरीको टोली रहनेछ भने तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ।'
प्रमुख जिल्ला अधिकारी आर्चायले जिल्लाभित्र निर्वाचन भयरहित, शान्तिपूर्ण र मर्यादित ढंगबाट सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताए। उनले ७६ ठाउँमा नेपाली सेना र २० ठाउँमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिए।आवश्यक परेको खण्डमा १० मिनेट भित्रमा नै पुग्नसक्ने गरी नेपाली सेना र सशस्त्र प्रहरी खटिएको उनको भनाइ छ।
गोरखा जिल्लाअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एक लाख १५ हजार तीन सय ९७ मतदाता छन्। जसमा ५८ हजार २२ जना महिला र ५७ हजार तीन सय ७५ जना पुरूष छन्। त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एक लाख पाँच हजार दुई सय ४० मतदाता छन्। दुई नम्बर क्षेत्रमा रहेका कूल मतदातामध्ये ५२ हजार तीन सय ९९ जना पुरूष र ५२ हजार आठ सय १४ महिला मतदाता छन् ।