काठमाडौं – साफ यु–१९ च्याम्पियनसिपमा भारतले बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा साविक विजेता भारतले साबिक उपविजेता बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
खेलको प्रारम्भदेखि नै भारतले बंगलादेशलाई दबाबमा राखेको थियो । पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थपेको थियो ।
भारतका लागि गवामसार गोवारेले खेलको ३३ सेकेन्डमै गोल गर्दै १–० को अग्रता दिलाएका थिए ।
भारतले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता दोब्बर बनायो। मिडफिल्डबाट आएको बललाई नियन्त्रणमा लिँदै नोब्बा मिथाई पांगम्बामले बंगलादेशी डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए।
निर्धारित समय सकिनै लाग्दा भारतले अग्रता ३–० मा पुर्यायो। भारतका लागि अर्जुन सिंहले गोल गरे। साफमा च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको । समूह ‘बी’ मा तेस्रो टोलीको रुपमा भुटान रहेको छ ।
समूह ‘ए’ मा भने आयोजक नेपाल, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले आफ्नो पहिलो खेल बिहीबार साँझ पाकिस्तानसँग खेल्दैछ । प्रत्येक समूहबाट दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।