काठमाडौं – आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। बिहान देशका अधिकांश भू–भागको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको उनले बताए। केही दिनदेखि पानी नपरेका कारण काठमाडौं उपत्यका लगायत अन्य भूभागको तापक्रम बढ्दो छ।
आज बिहानको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन भएको मौसमविद् अधिकारीले जानकारी दिए। उनका अनुसार चार दिनदेखि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस मापन भएको छ।
तराईका भू–भागमा पनि गर्मी बढ्दो छ। तराईमा ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अधिकारीले जानकारी दिए।