हेटौंडा – झापा, बर्दिया, कास्की र कैलालीबाट लागुऔषध सहित ७ जना पक्राउ परेका छन् ।
झापा विर्तामोड नगरपालिका–४ बस्ने ४० वर्षीय उमेश चौधरी र सोही नगरपालिका(३ डेरा गरी बस्ने २७ वर्षीया प्रतिक्षा चौधरीलाई अवैध लागूऔषध ब्राउन सुगर सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । उमेशको साथबाट ४ ग्राम २ सय मिलिग्राम र प्रतिक्षाको साथबाट ५ ग्राम उक्त पदार्थ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मे.१ ह २९२१ नम्बरको अटोका चालक उमेशलाई विर्तामोड नगरपालिका–४ पुरानो बिजुली अफिस नजिकबाट र प्रतिक्षालाई उनकै डेरा कोठाबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया मधुवन नगरपालिका–७ तारातालबाट २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित सोही ठाउँ बस्ने १९ वर्षीय पवन महत लगायत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट नियन्त्रित लागूऔषध २ सय एम्पुल नुर्फिन, २ सय एम्पुल डाईजेपाम र २ सय एम्पुल फेनारगन सहित नवलपरासी ९पश्चिम० पाल्हीनन्दन गाउँपालिका सनही घर भएका २० वर्षीय दिपेश लोहारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ४०६ नम्बरको हायस गाडीलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार लोहारले झोलामा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कैलाली लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट करिब ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित सोही ठाउँ बस्ने सेती महाकाली होटलकी संचालक ५० वर्षीया बिमला केसीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी जाँच गर्ने क्रममा बिमलालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै आवश्यक अनुसन्धान एवं सोधपुछको क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने २८ वर्षीया दिपा बिष्ट ९साउद०ले बिक्री गर्न दिएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।