काठमाडौं – निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको जनाएको छ ।
शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको जनाएको छ । जसमा ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ जना रहेका छन् ।
बागमती, प्रदेश १ र मधेश प्रदेशमा सबैभन्दा बढी मतदाता कायम भएका छन् । बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२ जना, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ जना र मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् ।
त्यस्तै, कर्णाली प्रदेशमा १० लाख आठ हजार ४०३ जना, सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार जना र गण्डकी प्रदेशमा १८ लााख १७ हजार ५४१ जना मतदाता छन् ।
मतदाता सङ्ख्याका आधारमा आयोगले १० हजार ८९१ मतदाता स्थलअन्तर्गत २२ हजार मतदान केन्द्र रहने गरी मतदान केन्द्र निर्धारण गरेको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए ।
