प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ड्यूटीमा खटिएका प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गर्ने पक्राउ

२०८० भाद्र ९, शनिबार ०३:०० बजे

हेटौंडा – झापा शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका(९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय बिकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् ।

मे.४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही तरिकाले चलाई आएका उनीहरुलाई सोधपुछ गर्ने क्रममा मोटरसाइकलमा सवार अशोकले लुकाई छिपाई ल्याएको बन्चरो अचानक प्रहार गर्दा प्रहरी निरीक्षक कटुवाल घाइते भएका थिए । स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा चालक अरूण तामाङ, मोटरसाइकलमा सवार अशोक पोखरेल र लक्ष्मण टुडुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्ने क्रममा अशोकको साथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।