प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

२०८० श्रावण २३, मंगलबार ०४:२४ बजे

काठमाडौं – हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा रातिदेखि लगातार हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुँदा खोला नालाको जल सतह बढेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियामा बबई नदीले खतराको तह पार गरेको छ।

त्यस्तै रौतहटमा बागमती नदीले पनि खतराको तह पार गरेको महाशाखाले जानकारी दिएको छ। सिन्धुलीको हरिहरपुरगढी क्षेत्रमा खोखजुर खोलाको जल सहत सतर्कताको नजिक रहेको छ। त्यस्तै, उत्तरी मकवानपुरको भोर्लेनीमा पनि बागमती नदीको जल सतह खतराको तह नजिक रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।