हेटौंडा – छुट्टाछुट्टै स्थानमा गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवक र एक युवतीको मृत्यु भएको छ । जुम्लाको सिँजामा युवक र तनहुँको भानुमा युवतीको गुडिरहेको ट्रयाक्टरबाट खसेर मृत्यु भएको हो ।
शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा ट्याक्टरबाट खसेर जुम्लाकै चन्दननाथ नगरपालिका ७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो ।
सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरमा सवार नेपाली हिजो साँझ ६ बजे सोही ट्याक्टरबाट खसेका थिए । गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएराती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता तनहुँको भानु नगरपालिका ९ डुम्रेमा शनिबार बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर स्थानिय २३ वर्षीया एलिना श्रेष्ठको मृत्यु भएको छ । गएराती ९ बजे दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट श्रेष्ठ खसेकी थिइन् । घाइते उनको उपचारको क्रममा डुम्रे स्थित लक्ष्मी अस्पतालमा गएराती साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुबै ट्रयाक्टरसहित चालक नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।