प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हिरासतभित्रै ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास

२०७९ फाल्गुन २९, सोमबार ०४:३१ बजे

सल्यान – जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतभित्र एक अभियुक्तले आत्महत्याको प्रयास गरेका छन्। जबरजस्ती हाडनाता करणी आरोपमा पक्राउ परेका बनगाड कुपिन्डे नगरपालिकाका ३४ वर्षीय थुनुवाले हिरासतभित्रै ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन् ।

प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार आइतबार बिहान ८:३० बजे ड्युटीमा खटिएका प्रहरीको आँखा छलेर ब्ल्याङ्केट ओढेर
ओछ्यानभित्र ब्लेडले घाँटी काटेर थुनुवाले आत्महत्याको प्रयास गरेका थिए। ती थुनुवा बिहान अबेरसम्म सुतेको र नास्ता खान उठाउन खोज्दा ओछ्यानबाट रगत बगिरहेको देखेपछि हिरासतबाट निकालेर तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको जनाइएको छ ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जनाइएको छ । ती थुनुवालाई पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । बन्दीगृहभित्र ब्लेड कसरी र कहाँबाट आयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।