प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग, यस्ता छन् १९ आरोप

२०८० भाद्र २५, सोमबार ११:३३ बजे

काठमाडौँ – अखिल नेपाल फुटबल संघका ४९ सदस्यले अध्यक्ष पंकजबिक्रम नेम्वाङ बर्खास्तीका लागि १९ आरोप लगाएका छन् । उनीहरुले १९ वटा कारण सहित अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तका लागि एन्फामा निवेदन दर्ता गराएका छन् ।

वर्तमान एन्फा अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धरासयी बनाउन लागिपरेको र उनीहरुलाई सो पदमा निरन्नरता दिँदा नेपाली फुटबलको भविष्यमाथि नै क्षति पुग्ने असन्तुष्ट पक्षको भनाइ छ । असन्तुष्ट पक्षले तत्काल साधारणसभा बोलाउन माग गर्दै सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नेसम्बन्धी एजेण्डा राख्न माग गरेका छन् । एन्फा विधानको धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यहरुको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउन पेश गरिएको अध्यक्षलाई सम्बेधन गरिएको निवेदनमा उल्लेख छ ।

निवेदन दिनेमा संकटा क्लबका इन्द्रमान तुलाधार, सातदोबाटो क्लबका कपिल राना मगर, मध्यपुर युथ क्लबका सुनिल श्रेष्ठलगायत ४८ सदस्य तथा क्लब अध्यक्षहरु छन् । अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग गर्नेहरुले विभिन्न १९ बुँदे आरोप लगाउँदै उनीहरुले समग्र फुटबललाई नै संकटतर्फ लगिरहेको आरोप लगाएका छन् ।