हेटौंडा – मकवानपुरको हेटौंडाबाट ठुलो परिमाणमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । लागुऔषध डाईजेपाम ३१० एम्पुल, फेनरागन ३१० एम्पुल, नुफिन ३१० एम्पुल र नाईट्राभेट ६०० ट्याबलेट सहित बिराटनगर घर भई हाल बिरगंज बस्ने २२ वर्षीय रंजित शर्मा र बिरगंज बस्ने जटाशंकर सोनार पक्राउ परेका हुन्।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहागरपालिका वडा नं.१५ रातोमाटे चेकपोष्टस्थित बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्बरको यात्रु बाहक बसलाई रोकेर चेकजाँच गर्दा बसमा सवार शर्मालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
शमाको साथमा रहेको चामलको बोरा चेकजाँच गर्दा लागुऔषध डाईजेपाम ३१० एम्पुल, फेनरागन ३१० एम्पुल, नुफिन ३१० एम्पुल र नाईट्राभेट ६०० ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
प्रहरीले उक्त लागुऔषधको बारेमा सोधपुछ गर्दा शर्माले सोनारले पठाएको र सोनार बस भन्दा अगाडी ना २६ प ७९८० नम्बरको मोटरसाइकलमा चितवनतर्फ गएको भनि बयान दिएका थिए । बयानको आधारमा मोटरसाइकलमा चितवनतर्फ जाँदै गरेको अवस्थामा लोथरस्थित सडक किनारबाट सोनारलाई पक्राउ गरीएको प्रवक्ता कार्कीले बताए ।
उक्त लागु औषध, मोटरसाइकल सहित दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता कार्कीले बताए ।