प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पिप्ले युथ क्लब सेमिफाइनलमा

२०७८ चैत्र ६, आईतबार १५:४९ बजे

हेटौंडा – साविक विजेता पिप्ले युथ क्लब, हेटौडा सर्लाहीमा जारी छैठौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । स्व.सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आइर्तबार भएको पहिलो क्वाटरफाइल खेलमा एडिभिजन टोली हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तर पराजित गर्दै पिप्ले युवा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पिप्ले युथ क्लबलाई जित दिलाउनका लागि रुपक लामा, कुलदिप कार्की र ऋतिक खड्का एकएक गोल गरेका थिए । खेलको सुरुवाती देखिनै शेर्पामाथि हावि भएको पिप्लेका लागि खेलको १५औं मिनटमा रुपक लामाले गोल गरेका थिए । खेलको ४९औं मिनटमा कुलदिप कार्कीले अग्रता दोब्बर बनाए  । त्यस्तै खेलको इन्जुरी समयमा ऋतिक खड्काले गोल गर्दै पिप्लेलाई ३–० को शानदार जित दिलाए ।

उत्कृष्ट खेल प्रदर्शन गरेका पिप्लेका रुपक लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।