प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एसीसी प्रिमियर कप: फाइनलमा नेपाल र यूएई भिड्ने

२०८० बैशाख १६, शनिबार ११:३३ बजे

काठमाडौं – नेपाल एसीसी प्रिमियर कप पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कुवेतविरुद्धको खेल भारी वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनल पुगेको हो ।

नेपालले एसीसी प्रिमियर कपको फाइनल यूएईसँग खेल्ने छ । मुलपानी क्रिकेट खेल मैदानमा युएईले ओमानलाई डीएल पद्दतिको आधारमा २ रनले हराएको हो।

वर्षाले खेल रोकिनु अघि ८ ओभर २ बलमा कुवेतले ६ विकेट गुमाएर ३७ रन जोडेको थियो । नेपालका करण केसीले ५ र सोमपाल कामीले १ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो । वर्षाका कारण ४२ ओभरमा छोट्याईएको थियो ।

नतिजा आउन कुवेतले कम्तीमा २० ओभर ब्याटिङ गर्न पर्थ्यो । ६ विकेट गुमाई सकेको अवस्थामा कुवेतलाई १ सय ९४ रन चाहिन्थ्यो । थप खेल नभएपछि रद्द हुन पुग्यो र नेपाल समूह विजेताको आधारमा फाइलनमा पुगेको छ ।

नेपालका लागि कप्तान रोहित पौडेलले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले ५७ रनको अर्धशकिय इनिङ्ग खेले । कुशलले ४४ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए। करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३/३ तथा सयद मोनिव र यासिन पटेलले समान १/१ विकेट लिए ।

एसीसी प्रिमियर कपको फाइनल सोमबार हुनेछ । फाइनलमा यूएईलाई हराएमा नेपाल एसिया कपका लागि छनोट हुनेछ ।