हेटौंडा – हेटौंडा कप एशियाली बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधि भारतीय खेलाडी सुभयान कुण्डुले जितेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडा आइतबार सम्पन्न नवौं तथा निर्णायक चरणको खेलमा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनलाई पछि पार्दै कुण्डुले नगद १ लाख २५ हजार रुपैयाँ पुरस्कार जितेका हुन् ।
नेपाल खेलकुद महासंघको १५ औं स्थापना दिवसको अवसरमा नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा २३९३ रेटेड कुण्डुले ७ दशमलव ५ अंक जोडेका हुन् । नौमध्ये ६ चरणमा स्पष्ट जित हासिल गरेका उनी ३ चरण बराबरीमा रोकिए पुगेका थिए ।
प्रतियोगितामा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनले ७ अंक जोड्दै दोस्रो स्थान हासिल गरे । उनले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्दा तेस्रो भएका भारतका एफएम अरबिन्दर प्रित सिंले नगद ४० हजारमा चित्त बुझाए ।
त्यस्तै बंगलादेशका मोहमद सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा समान ६ दशमलव ५ अंक प्राप्त गरे । उनीहरु क्रमशः चौथोदेखि दशौं स्थानमा रहे ।
त्यस्तै एफएम नयम हक एघारौं, नेपालका एआईएम शुश्रुत दाहाल बाह्रौं, डेवोस्निक तेह्रौं, आशीष राज चौधौं र भारतका आदित्य बर्टके पन्ध्रौं स्थानमा रहन पुगे । उत्कृष्ट स्थानीय खेलाडी झिल्के मोक्तान, बेष्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहनसिं प्रधान दोस्रो, उत्कृष्ट महिला खेलाडी श्रीलंकन सचिनी रानासिंघे महिला प्रथम, इसानाभि दोस्रो भए ।
विजेता तथा उपविजेता एवम् खेलाडीहरुलाई मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठ, बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले पुरस्कार वितरण गरेका थिए ।