प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

डढेलो निभाउने क्रममा लडेर एक जनाको मृत्यु

२०८१ बैशाख ३, सोमबार २०:४१ बजे

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीको जंगलमा लागेको डढेलो निभाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय महले घर्ती रहेका छन् ।

सोमबार बिहान साढे ११ बजेतिर लागेको डढेलो निभाउन गएका घर्ती आफूतर्फ आगोको ठूलो मुस्लो आएपछि भाग्दा लडेर गम्भीर घाइते भएका थिए।

सल्लाघारीबाट १५० मिटर तल खसेका घर्तीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल तम्घास पुर्याएकोमा चिकित्सकले साढे २ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

घर्तीसँगै सल्लाघारीबाट लडेका स्थानीय ५२ वर्षीय रेसम थापा घाइते छन्। थापाको तम्घास अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।