हेटौंडा – नेपाली कांग्रेस मकवानपुरले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेको छ। मकवानपुर सभापति बुद्ध लामाले एक पत्र सार्वजनिक गर्दै नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन्।
नेविसंघ अध्यक्ष शेर्पाले एक विज्ञप्तिमार्फत नेविसंघ मकवानपुरको आधिकारिक कार्यसमिति भिषण ठकुरीको नेतृत्व रहेको र अरु कुनै पनि समितिको अस्तित्व नहरेको जानकारी दिएका थिए । ठकुरीकै नेतृत्वमा रहेको कार्यसमितिलाई नै संगठन विस्तार गरि स्ववियु निर्वाचनको तयारी जुट्न विज्ञप्ति मार्फत शेर्पाले निर्देशन दिएका थिए ।
उक्त विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै लामाले पत्रमा लेखेका छन् ,‘नेपाली कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटा नै आधिकारिक अध्यक्ष रहेको स्मरण गराउँदै नेविसंघ मकवानपुरलाई कमजोर बनाउने भूमिकामा लागेका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न अनुरोध छ।’
नेविसंघ मकवानपुरले सभापति अध्यक्ष सुवास सापकोटाको नेतृत्वमा स्ववियु निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको र पार्टीका तर्फबाट सहसचिव इन्दिरा न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिएको पत्रमा उल्लेख छ।
‘हाल आएर नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाले कांग्रेस कार्यसमितिले सिफारिस गरेको अध्यक्षसमित कार्यसमितिलाई बर्खिलाप गरी स्ववियु चुनावमा नेविसंघलाई असफल बनाउने भूमिका साथ मकवानपुरमा नेविसंघ साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाइएको देखिएकोले गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ।
