मकवानपुर – मकवानपुर प्रहरीले जिल्लामा चोरीका विभिन्न घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको छ । हेटौंडा सिमेन्ट उद्योग, निर्माणाधीन भवनहरू, निजी सम्पत्तिमा भएको चोरीका घटनाहरूमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई पक्राउ गरिएको हो।
हेटौंडा सिमेन्ट उद्योगबाट बिजुलीको तार चोरी गर्ने पक्राउ
हेटौंडा सिमेन्ट उद्योगबाट चोरी भएका बिजुलीका तामाका तारहरूसँगै तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। असोज २३ गते राति २ बजे हेटौंडा उपमहानगरपालिका-९, लामसुरेस्थित उद्योगको पश्चिमी भागमा रहेको क्रसरसम्म जाने ६ ईन्च र ४ ईन्चका तामाका तारहरू काटेर चोरी गरिएको थियो।
अनुसन्धानका क्रममा सुरक्षा गार्ड र स्थानियहरूको सहयोगमा चोरी भएका तारहरूको बाहिरी खोल उद्योग नजिकै प्लटिङ गरिएको जग्गामा फेला परेपछि थप अनुसन्धान गरिएको थियो।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा २२ वर्षीय मनिराम थोकरलाई असोज ७ गते पक्राउ गरेको छ। अनुसन्धानको क्रममा थोकरले वडा नं. १३ बनस्पति स्थित K.M. हार्डवयरबाट ह्याक्सो ब्लेड खरिद गरेको प्रमाण फेला परेको थियो। सोधपुछमा थोकरले २८ वर्षीय सन्त बहादुर तितुङसहित अन्य ५-७ जना व्यक्तिसँग मिलेर तार चोरी गरेको र उद्योग नजिकै प्लटिङ गरिएको जग्गामा तार छीलेर कवाडी पसलका संचालक दिल खुश कुमार साहलाई बेचेको खुलासा गरेका छन्।
साह भारतको मोतिहारी जिल्ला, चिरैया थाना, वडा नं. ७ का बासिन्दा हुन्, जो हेटौंडामा कवाडी पसल संचालन गर्दै आएका छन्। प्रहरीले मनिराम थोकर, सन्त बहादुर तितुङ, र दिल खुश कुमार साहलाई पक्राउ गरी उनीहरूविरूद्ध चोरी तथा डाँका मुद्दामा म्याद थप गरेको छ। अन्य फरार रहेका व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ।
निर्माणाधीन घरबाट चोरीमा चोरी गर्ने पक्राउ
त्यस्तै यही कार्तिक ३ गते बिहान ४ बजे हेटौंडा-८, कर्णावती मार्गस्थित शिव गौतमको निर्माणाधीन घरबाट बिजुलीका तारहरू चोरी भएको थियो। अनुसन्धानको क्रममा प्रहरीले असोज ७ गते सुमन राई (२६), समिर घिमिरे (२५), र असोज ८ गते राति ३:३० बजे सुशान्त श्रेष्ठ (२४) लाई पक्राउ गरेको हो। श्रेष्ठलाई हेटौंडा-८, बिन्दबासिनी स्थित निर्माणाधीन चर्चको भवनमा राति सुतेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। पक्राउ परेका तीनै जनामाथि चोरीको आरोपमा थप अनुसन्धान भइरहेको छ।
साउण्ड सिस्टम र नगद चोरी
यसैगरी, असोज १६ गते राति हेटौंडा-८, क्याम्पास्थित हेटौंडा फन भिल्लाबाट रु. ६०,००० बराबरको साउण्ड सिस्टम र नगद रु. २०,००० चोरी भएको थियो। अनुसन्धानपछि, मकवानपुर प्रहरीले उक्त चोरीमा संलग्न सुशान्त श्रेष्ठलाई पक्राउ गरेको छ। उनीमाथि आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चोरी गर्ने पक्राउ
त्यसैगरी यही कार्तिक ३ गते मकवानपुरको हेटौंडा–२ स्थित शान्तीटोल पार्किङ गरिएको स्थानीय बर्ष ४१ को राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नं. को मोटरसाइकल चोरी भएको थियो। प्रहरीले असोज ८ गते हेटौंडा उपमहानगरपालिका वडा नं.९, पशुपतिनगरबाट उक्त मोटरसाइकलसहित सुशान्त श्रेष्ठलाई पक्राउ गरिसकेको छ।
३७ किलो तारसहित दुई जना पक्राउ
त्यस्तै यही कार्तिक ८ गते बिहान मकवानपुरगढी गाउँपालिका वडा नं.२ स्थित कान्तीलोक पथ सडक खण्डमा इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा चोरीका ३७ किलो २३ ग्राम बिजुलीको तारसहित राजेश्वर चौधरी र राहुल चौधरीलाई पक्राउ गरेको छ।
मकवानपुर प्रहरीका अनुसार, विभिन्न चोरी घटनामा संलग्न यी व्यक्तिहरूमाथि थप अनुसन्धान र कारबाही जारी रहेको छ।