हेटौंडा – जहाज दुर्घटनामा मृत्यु भएका यात्रुहरुको सम्झानामा हेटौंडामा दीप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाको आयोजनामा मकवानपुरका सञ्चारकर्मीहरुले हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन गरेका हुन् ।
नेपाल पत्रकार महासंघका केन्दीय सदस्य त्रिभुवन पौडेल, अर्का सञ्चारकर्मी अनिल साही सहित ७२ जना सवार यती एयरलाइन्सको विमान पोखरामा आइतबार बिहान दुर्घटना भएको थियो ।

जसमध्ये दुर्घटनामा परेका ६९ जनाको शव भेटिएको छ । ३ जना अझै बेपत्ता रहेका छन् । २६ जनाको मात्र सनाखतन भएको छ । सनाखत भएको सग्लो शरीरसहितको शवको पोस्टमार्टम पोखरामा भइरहेको छ ।
त्यस्तै बाँकी शव पहिचानमा कठिनाई भएपछि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाईने तयारीमा रहेको बताईएको छ । काठमाडौंबाट पोखराको लागि उडेको उक्त जहाज आइतबार बिहान करिब ११ बजे पोखरास्थित सेती खोचमा दुर्घटना भएको थियो ।

दीप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेका संस्थापक अध्यक्ष प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्वअध्यक्ष भानुभक्त आचार्य, महासंघका प्रदेश महासचिव कृष्ण सारु मगर, मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण गौतम, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायतको उपस्थिती रहेको थियो ।
