प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बानियाँलाई सिंहको जुङ्गाको चिन्ता !

२०७९ मंसिर १४, बुधबार ०८:१५ बजे

हेटौंडा – मकवानपुरमा स्थानीय तह निर्वाचनमा कमजोर देखिएको नेकपा एमाले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा  जिल्लाको पहिलो पार्टी बनेको छ । सत्तागठबन्धनको चुनावी तालमेल हुँदा पनि प्रत्यक्षतर्फ एक प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य जित्दै पहिलो पार्टी बनेको हो । एमालेबाट मकवानपुर क्षेत्र नंं. २ मा महेश कुमार बर्तौला र क्षेत्र नं.१ (ख) बाट एकालाल श्रेष्ठ विजयी भएका छन् ।

मकवानपुर क्षेत्र नं.१ मा राप्रपाका दिपक बहादुर सिंह विजयी भएका छन् । मकवापुर क्षेत्र नं.२(क)मा माओवादी केन्द्रकी कुमारी मोक्तान र क्षेत्र नं.१(क)मा प्रेम बहादुर पुलामी मगर विजयी भएका छन् ।

गत स्थानीय तह चुनावमा पाँच पालिका जित्दै पहिलो बनेको नेपाली कांग्रेस गठबन्धन हुँदा पनि विगतमा झै खाता खोल्न मात्र सफल भएको छ । जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ (ख) मा कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँ निर्वाचित भएका हुन् । यसअघि निर्वाचनमा कांग्रेसबाट बानियाँ मात्रै निर्वाचित भएका थिए ।

विजयी भएका ती ६ सांसदहरु निर्वाचत प्रमाणपत्र लिन सोमबार हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेका थिए । त्यहाँ बानियाँ र सिंहबीच छोटो ब्याङ्ग्य सम्बाद सुन्न पाईयो । त्यहाँ बानियाँले सिंहको जुङ्गाको ब्याङ्ग्य गरेका थिए ।

कुरा हो, प्रमाणपत्र लिएपछिको । कार्यक्रमस्थाल बाहिर ६ सांसद लस्कारै बसेका थिए । उनिहरुसंग तस्वीर खिच्न चाहाने शुभचिन्तकहरुको लर्को थियो । सोही क्रममा बानियाँले फोटो खिच्दा राम्रोसंग बस्न आग्रह गर्दै थिए । उनको नजर सिंहको जुङ्गामा पुग्यो ।

बानियाँले मुसुमुसु हास्दै सिंहलाई भने,‘चुनाव जितेपछि सेतो जुङ्गा रातोरातो हुन थालेछ,’ उनले थपे ‘अब जुङ्गा कालो हुन्छ होला !’ उता दुई गठबन्धन भत्काउँदै चुनाव जितेका सिंह भने, ‘कालो हुँदैन, सेतै हुन्छ ।’

सिंह मकवानपुर क्षेत्र नम्बर १ बाट राप्रपा नेपालका कमल थापा र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डिना)लाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका थिए । उनले डिनालाई २ हजार ३८७ मतान्तरले पराजित गरेका थिए । उनले २७ हजार ८५१ मत पाएका थिए । क्षेत्र नम्बर २ मा एमालेका बर्तौलाले नेकपा एसका विरोध खतिवडालाई ४ हजार ५१८ मतले पराजित गरेका थिए । उनले ३४ हजार ९५० मत प्राप्त गरेका थिए ।

त्यस्तै क्षेत्र नम्बर १ को (क)मा माओवादीका छिन्तु १९ हजार ७३३, (ख)मा एमालेका एकालाल श्रेष्ठ १४ हजार २४७ मत सहित विजयी हुँदा क्षेत्र नम्बर २ को (क)मा माओवादीकी मुक्तान १९ हजार ९०६ र (ख)मा बानियाँ १८ हजार ७३१ मत सहित निर्वाचित भएका थिए ।

समानुपातिक प्रतिनिधि र प्रदेशमा एमालेलाई बढी मत
समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । अन्तिम मतपरिणाम अनुसार प्रतिनिधितर्फ कुल १ लाख ७७ हजार ५८५ मा एमाले ५० हजार मत प्राप्त गरेको छ ।

त्यस्तै कांग्रेसले ३६ हजार २६४, राष्ट्रिय स्वतन्त्र पार्टी २९ हजार ८८९, माओवादी केन्द्र २६ हजार १३३, राप्रपा १६ हजार ७७१ र एकिकृत समाजवादी ३ हजार ८२७ मत प्राप्त गरेको छ । खसेको मतमध्ये १ लाख ७० हजार १६६ सदर हुँदा ७ हजार ६९९ मत बदर भएको जिल्लाको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

समानुपातिक प्रदेशः एमाले नै पहिलो
प्रदेशसभा समानुपातिकतर्फ जिल्लामा एमाले नै पहिलो दल बनेको छ । गणना भएको १ लाख ७७ हजार १२० मा एमालेले ५७ हजार ३५७ मत प्राप्त गरेको छ । त्यस्तै कांग्रेसले ४० हजार ५६५, माओवादीले २७ हजार २२३, राप्रपाले २४ हजार ८५८ र एसले ६ हजार ६५ मत प्राप्त गरेको छ । खसेको मध्ये १ लाख ६७ हजार ७६२ मत सदर र ९ हजार ३५९ मत बदर भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।