हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेशका सभापती इन्द्र बहादुर बानियाँ प्रदेशसभाका सांसद मात्रै होइनन्, निर्माण व्यवसायी पनि हुन् । गत निर्वाचनमा मकवानपुर क्षेत्र नं.२ को (ख) मा उम्मेद्वार बनेका बानियाँलाई चुनाव प्रचारप्रसारको क्रममा स्थानीयहरुले एउटै प्रश्न बारम्बार गर्थे, “मनहरी गाउँपालिकामा तपाईको कम्पनीले ठेक्का लिएको पक्की पूल निर्माण समयमै किन नबनाएको ? कहिले बन्छ ?”
त्यो प्रश्नमा नेता बानियाँले भनेका थिए,‘कामको अवधि तोक्या हुन्छ, त्यहाँ राखेको बोर्ड, समय हेर्नु पर्यो, सयमभित्र सम्पन्न भएन भने मेरो मान्छे नालायक रछ भनौला, नत्र भनी जस्ले प्रश्न गर्यो ? समय नहेरी प्रश्न गर्ने मान्छे नालायक रेछ भनुला ।’ स्मरण रहोस्, मनहरी नेता बानियाँकै निर्वाचन क्षेत्र हो ।
त्यति मात्रै होइन्, उनले तोकिएको समयमा काम नसकिए धर्ती छाड्ने पनि अभिब्यक्ति दिए । उनले चुनाव पनि जिते । तर उनको कम्पनीले जिम्मा पाएको ४ वटा पुल निर्माणको सम्झौता अवधि २ बर्ष सकिएर १ बर्ष म्याद थप्दा गर्दा समेत योजना सम्पन्न नुहने निश्चित भएको छ ।
हिराचन बानियाँ जेभी(संयुक्त)ले गत २०७७ पुस २८ गते मनहरी गाउँपालिकाको मसिनेखोला, ट्वाङ्ग्रा खोला, च्याफाल खोला र ठाडोखोलामा ४ वटा पुलको निर्माणको जिम्ममा पाएको थियो । त्यसको म्याद थप यही पुसमसान्तमा सकिदैछ ।
गाउँपालिकाको आन्तरिक स्रोतबाट निर्माण भइरहेको ५ वटा पुल निर्माणको काम २० देखि ५० प्रतिशतसम्म बाँकी रहेको मनहरी गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख सव इन्जिनियर टुकुराज चौधरीले बताए । उनका अनुसार वडा नं.३ र ४ जोड्ने मसिने खोलाको २५, वडा नं.३ र ४ नै जोड्ने ट्वाङ्ग्रा खोलाको २०, वडा नं.१ र २ जोड्ने च्याफाल खोलाको २० र वडा नं.३ कै ठाडोखोलाको ३५ प्रतिशत काम बाँकी रहेको छ । त्यस्तै भैरवनारायण जेभी(संयुक्त)ले निर्माण गरिहेको वडा नं.३ स्थित हाँडीखोलाको काम ५० प्रतिशत काम बाँकी रहेको उनले बताए ।
उक्त ५ वटा पुलको निर्माणका लागि गाउँपालिकाले ३३ करोडको लागतमा गत २०७७ पुस २८ गते निर्माण कम्पनीसंग सम्झौता गरेको थियो । सम्झौता अवधि २०७९ पुस मसान्तसम्म काम सकिएपछि चार्डपर्व, बर्षा र चुनावको कारण काम प्रभावित भएको भन्दै निर्माण कम्पनीले ४ वटा पुलको २०८० पुससमान्तसम्म म्याद थप गरेर काम गरेको थियो । त्यस्तै ठाडोखोलाको चालुआर्थिक बर्षको चैत मसान्तसम्म म्याद थप रहेको सव इन्जिनियर चौधरीले बताए ।
मनहरीका निवर्तमान अध्यक्षको एकराज उप्रेतीको पालामा पाँचवटै पुलको निर्माण आरम्भ गरेको थियो । आफ्नै आन्तरिक स्रोतबाट पाँच वटा पुल निर्माण थालनी गर्ने मनहरी पहिलो स्थानीय हो । यसको चर्चा गाउँपालिका महासंघद्वारा प्रकाशित स्मारिकामा गरिएको छ । सम्झौता भएको तीन बर्षसम्म निर्माण सम्पन्न नहुनुमा स्थानीय सरकारको कमजोरी रहेको स्थानीयहरुको बुझाई छ ।
मनहरीका सुर्य किरण युवा क्लबका अध्यक्ष बीर बहादुर मिजारले चुनाव ताका दिएको अभिव्यक्तिको भिडियो पोष्ट गर्दै लेख्छन्, ‘कहिले बन्छ नालायक माननीय इन्द्रबहादुर बानिया ज्यु ? मनहरी गाउँपालिकाको १ देखि ४ सम्मको ५ वटा पुल म्याद सकिएर थपेरे पनि म्याद सकि सक्यो, अझैै उस्तै छ, कहिले बन्छ ? चुनाबको बेलामा त ठुला कुरा गर्नु भाको थियो ।’
‘अनि स्थानीय सरकार रन्जन कालाखेती ज्यु कहिले बनाउछ तपाईको काकाले ५ वटा पुल ? सोजा टिचर सरुवा गर्न जति सजिलो भयो, तपाईको काकालाई चाडो काम गर्न दबाब दिन किन गाह्रो ? नालायक सरकार...’ मिजारले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारवाही हुनु पर्ने स्थानीयस्तरमा कुरा चलिरहदा पालिका भने कामको अवधि थप गर्ने याजनामा छ । ‘एउटा पुलको जम्मा ४० प्रतिशत काम भाको छ, त्यसलाई त ब्ल्याक लिष्ट गर्न सकिन मैले, जुन रेटमा कम्पनीले टेण्डर हालेको थियो, त्यति बिलोमा हाल्दैन रेट बढेको छ,’पालिका अध्यक्ष रञ्जन कालाखेतीले भने, ‘ठेक्का तोड्नु भन्दा बरु त्यही ठेकेदारलाई प्रेसर दिएर ४/५ महिनाभित्र सबै पुलको काम कम्पिट गराउने तीर लाग्या छु ।’
हिराचन बानियाँ जेभी(संयुक्त)का प्रतिनिधि ऋषि बानियाँ आफुलाई पुल निर्माणको बारेमा पूर्ण जानकारी नभएको बताउँछन् । ‘यस बारेमा जानकार ब्यक्तिले तपाई सम्पर्क गर्नुहुन्छ, मैले नम्बर पनि दिएको छु, उनले भने । तर घण्टौ वित्दा समेत फोन आएन ।
पक्की पुल निर्माण तोकिएकै समयमा नहुने निश्चित छ । नेता बानियाँकै शब्द सापटी लिएर अब नालायक को ? प्रश्न गर्ने कि समयमै काम नसक्ने ?