काठमाडौं – फिफा विश्व कप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २– ० गोल अन्तरले हराउँदै फ्रान्स फाइनलमा पुगेको थियो ।
कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए । हर्नान्डेजले खेलको पाचौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए ।
त्यस्तै खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरेका थिए । उनी ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए ।
पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई हराउँदै ३–० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ । आउँदो आइतवार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच खेल हुनेछ । फाइनल खेल नेपाली समय अनुसार आइतवार राति पौने ९ बजे कतारको लुसिल मैदानमा सुरु हुनेछ ।
फ्रान्स र अर्जेन्टिनाले समान दुई–दुई पटक विश्व कपको उपाधि जितेका छन् । फ्रान्सले सन् २०१८ र सन् १९९८ मा जितेको थियो भने अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्व कप उपाधि जितेको थियो।