काठमाडौँ – फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटमा नेपालले मंगलबार यमनविरुद्ध खेल्दैछ ।
नेपालले यमनसँग दोस्रो चरणको पहिलो लेगको खेल घरेलु मैदानमा खेल्न लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजे सुरु हुनेछ ।
छनोट अन्तर्गतको पहिलो खेलमा यूएईविरुद्धको पहिलो लेगमा ४–० को हार ब्यहोरेको नेपाल यमनविरुद्धको खेलमा जित निकाल्ने योजनामा रहेको छ ।
फिफा वरियताको १ सय ५६ औं स्थानमा रहेको यमनविरुद्ध नेपाल घरेलु मैदानमा अंक जोड्ने प्रयासमा हुनेछ । नेपाल फिफा वरियतामा १ सय ७३ औं स्थानमा छ ।
प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले यमनसँग जितको लागि खेल्ने बताए । उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए ।
उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।