प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

उदयपुर सिमेन्ट उद्योग बन्द

२०७९ असार २८, मंगलबार ०३:२१ बजे

उदयपुर – पर्याप्त बिजुली आपूर्ति नहुँदा उदयपुरको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योग बन्द छ । उद्योग पूर्ण  रूपमा  सञ्चालन हुन छ  मेगावाट विद्युत् आवश्यक पर्नेमा हाल दुई मेगावाट मात्र प्राप्त भइरहेको, त्यसमा पनि भोल्टेज अस्थिर भइरहने र निकै कम भोल्टेज आएकाले  उद्योग  सञ्चालन  हुन  नसकेको  सो  उद्योग  व्यवस्थापनले  जानकारी  दिएको  छ ।

यो उद्योगले मुख्यगरी क्लिङ्कर उत्पादन गर्न नसक्दा सिमेन्ट उत्पादन र बिक्री ठप्प भएको छ ।गत असार ९ गते राति परेको चट्याङले सिरहाको  लहानस्थित  विद्युत्  सबस्टेसनको  ट्रान्सफर्मरमा  क्षति  पु¥याएको  र  मर्मतमा  ढिलाइ  भएका  कारण  विद्युत्  आपूर्तिमा  समस्या आएको बताइएको छ । मर्मतका लागि अझ एक हप्ता लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरण, उदयपुर वितरण केन्द्रका प्रमुख पङ्कज गोइतले बताए ।

असार  ९  गते रातिदेखि बन्द रहेको यो उद्योगलाई  दैनिक  करिब  एक  करोड  रुपियाँ  घाटा  भइरहेको  उद्योगका  कायम  मुकायम नायब महाप्रबन्धक विजय ठाकुरले जानकारी दिनुभयो । बिग्रिएको   ट्रान्सफर्मर मर्मत गरी पूर्ण क्षमतामा काम नगरेसम्म उद्योग चल्ने अवस्था छैन । उद्योगले दैनिक छ सय टन क्लिङ्कर उत्पादन गर्दै आएको थियो भने दैनिक आठ हजार बोरासम्म सिमेन्ट बिक्री गर्दै आएको थियो । हाल भने उद्योगले उत्पादन गर्ने गैँडाछाप सिमेन्ट बजारमा अभाव छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।