हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
उपमेयर राजेश बानियाँले मंगलबार नगरसभामा बजेट प्रस्तुत गर्दै चालु वर्षको तुलनामा १९ प्रतिशतले वृद्धि भएको जानकारी दिएका छन् ।
गत वर्ष उपमहानगरको बजेट २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ थियो । चालु वर्षको खर्च व्यवस्थापनका लागि उपमहानगरले आन्तरिक आय, राजस्व बाँडफाँड, संघीय तथा प्रदेश सरकारको अनुदान, र नगर विकास कोषबाट प्राप्त ऋणलाई मुख्य स्रोतको रूपमा लिएको छ ।
जसमा मुख्य स्रोतहरू यसप्रकार छन:
आन्तरिक आय: ६२ करोड ७६ लाख
राजस्व बाँडफाँड: ९२ करोड ७० लाख
संघीय सरकार अनुदान: १ अर्ब १९ करोड ५० लाख
प्रदेश सरकार अनुदान:११ करोड ४५ लाख
नगर विकास कोषको ऋण: ३ करोड ६० लाख छन ।
यस्तै, बजेटमा शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण, पूर्वाधार विकास, वातावरण संरक्षण, र खेलकुद क्षेत्रलाई प्राथमिकता दिइएको छ। शिक्षा क्षेत्रमा ५ करोड ५१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने स्वास्थ्य क्षेत्रमा २ करोड ७८ लाख रुपैयाँ छुट्याइएको छ । हेटौंडा अस्पतालमा निर्माणाधीन बाल एनआईसियु र पिआईसियु सेवा सञ्चालनका लागि २ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समावेशीकरणका कार्यक्रमका लागि १ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। सामाजिक विकास योजनामा १६ करोड ८३ लाख रुपैयाँ छुट्याइएको छ। भने हरियाली प्रवर्द्धन, फोहोर व्यवस्थापन, जलस्रोत संरक्षण, विपद् न्यूनीकरण तथा वातावरण संरक्षणतर्फ ३ करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
साथै, वातावरण र विपद् व्यवस्थापन कोषका लागि थप ६ करोड २० लाख विनियोजन गरिएको छ। यसैगरी खेलकुद प्रतियोगिता तथा पूर्वाधार निर्माणका लागि २ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ। जसमा ‘मेयर कप’, ‘उपमेयर कप’ लगायत विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिनेछ।
सीपमूलक तालिम र स्वरोजगार प्रवर्द्धनका कार्यक्रम अन्तर्गत ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै अटोभिलेज, वाटर फन पार्क, गंगा आरती स्थल निर्माण, एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गर्ने योजनालाई पनि बजेटमा समेटिएको छ। बसपार्कको लागि मात्र ४ करोड रुपैयाँ छुट्याइएको छ।