प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

वडासदस्य थापा ३८ दिनपछि मृत भेटिए

२०७९ आश्विन १८, मंगलबार १४:५३ बजे

उदयपुर – गएको भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आज मङ्गलवार भेटिएको छ । उहाँको शव ३८ दिनपछि फेला परेको हो ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गएको भदौ ९ गतेदेखि बेपत्ता हुनुहुन्थ्यो । उहाँको कङ्काल बेलका नगरपालिका–८ सेती खोलामा रहेको माछापुच्छ्रे सामुदायिक वनमा रुखमा झुन्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए ।

डीएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । राउत गएको वैशाखमा सम्पन्न पालिका चुनावमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।