प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा पूर्वाधार विकासमा ११ महिनामा ३५.५९ प्रतिशत बजेट खर्च

२०८२ असार १५, आईतबार १८:४० बजे

हेटौंडा । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म हेटौंडा उपमहानगरले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ७७ करोड ४१ लाख ६२ हजार ६६७ रुपैयाँ विनियोजन बजेटमध्ये २७ करोड ५५ लाख ३४ हजार ५२१ रुपैयाँ मात्रै खर्च गर्न सकेको छ।

 उपमहानगरले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार नगरस्तरीय ३५ र वडास्तरीय ९४१ गरी ९७६ वटा योजना सञ्चालन गरेकोमा ३७७ वटा योजना सम्पन्न भएका छन् भने ५९९ योजना कार्यान्वयनको चरणमा रहेका छन्।

सम्पन्न योजनाबाट २५ किलोमिटर क्रंकिट सडक निर्माण सम्पन्न भएको छ भने ४७० मिटर सडक कालोपत्रे, सडक ग्रेभल ५.५ कि.मि. खानेपानी पूर्वाधार ७ वटा, विद्यालय पूर्वाधार १३ वटा, पर्यटन पूर्वाधार १५ वटा, खेलकुद पूर्वाधार १७ वटा, गुम्बा पूर्वाधार सुधार १३ वटा, मन्दिर पूर्वाधार निर्माण २९ वटा र स्वास्थ्य पूर्वाधारतर्फ ७ वटा र शौचालय ११ वटा सम्पन्न भएका छन्।

यसैगरी बस्ती संरक्षण एवं तटबन्धनतर्फ ३२ वटा, सिँचाइ योजना ७ वटा, सामुदायिक भवन पूर्वाधार एवं मर्मत सम्भारतर्फ ४३ वटा सम्पन्न भएको उल्लेख छ।

‘एक बड़ा एक खेलकुद’ पूर्वाधार निर्माण गर्दै जाने नीतिअनुरूप हेटौडा उपमहानगर- वडा नं. ६ मा फुटसल र वडा नं. १४ मा ब्याडमिन्टन कोर्ट निर्माणाधीन अवस्थामा रहेको जनाएको छ।

उपमहानगरको वडा कार्यालयहरूको प्रशासनिक भवन निर्माण गर्दै जाने नीतिअनुरूप चालु आर्थिक वर्षमा वडा नं. ५, ६ र १६, नं. वडा कार्यालय भवन निर्माण चालु अवस्थामा रहेको जनाएको छ।

यसैगरी अधुरो स्वास्थ्य संस्थाहरूको भवन निर्माणलाई सम्पन्न गर्दै जाने नीतिअनुरूप वडा नं. १. ४ र ५ को शहरी स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भई आफ्नै भवनबाट सेवा सुचारु गरिएको उल्लेख गरिएको छ।

जिल्ला समन्वय समिति मकवानपुरको लागत साझेदारीमा वडा नं. ९ को लामसुरे शहरी स्वास्थ्य केन्द्र निर्माण अन्तिम चरणमा रहेको जनाएको छ।

संघीय सरकारबाट हस्तान्तरित विशेष अनुदान कार्यक्रमतर्फ वडा नं.४ को श्रमिक मा.वि.भवन निर्माण कार्य चालु अवस्थामा रहेको र सशर्त अनुदानतर्फ वडा नं. ३ को राईटोल सडक स्तरीकरण र वडा नं. ७ को ज्येष्ठ नागरिक पार्क निर्माण सम्पन्न भएको उल्लेख गरिएको छ। वडा नं.१५ को साइदो पालरी गुम्बा निर्माण चालु अवस्थामा रहेको जनाएको छ।​

समपूरक कार्यक्रमअन्तर्गत वडा नं १३ को पदमपोखरी मुख्य सडकको स्तरीकरण गर्ने कार्य चालु अवस्थामा रहेको छ। बागमती प्रदेश सरकारबाट हस्तान्तरित सशर्त अनुदान कार्यक्रमवाट वडा नं. २, ४ र राजकुलो सरसफाइ कार्य र बडा नं. १९ मा उप्रेतीडाँडा सडक स्तरोन्नति सम्पन्न भएको जनाएको छ।

वडा नं. १० मा कोसेली घर, वडा नं. ६ मा रामकाजी पँधेरो भूमिगत सिँचाई निर्माण कार्य अन्तिम चरणमा रहेको उपमहानगरले सार्वजनिक गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ।

त्यसैगरी बागमती प्रदेश सरकारको समपूरक अनुदान कार्यक्रमबाट कुखरेनी खोलादेखि औद्योगिक क्षेत्र हुँदै उत्तरपानी जाने सडक निर्माण कार्य सम्पन्न भएको जनाएको छ। नगरपालिकाको आफ्नै स्रोतबाट वडा नं. १० को ज्ञानदा माविको भवन निर्माण चालु अवस्थामा रहेको उल्लेख गरिएको छ।

नगर विकास कोषसँगको साझेदारीमा सञ्चालित वडा नं. १० को एकीकृत बस टर्मिनल भवन आयोजना निर्माण अन्तिम चरणमा रहेको जनाएको छ।

सडक बोर्ड नेपालको साझेदारीमा वडा नं. ४ को बुद्धपथ सडक कालोपत्रे सम्पन्न भएको छ। उपमहानगर र बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागत साझेदारीमा प्रादेशिक तरकारी तथा फलफूल थोक बजार निर्माण सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको उपमहानगरले उल्लेख गरेको छ।

उपमहानगरको सहयोगमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा बाल तथा प्रसूति कक्ष निर्माणाधीन अवस्थामा रहेको जनाएको छ।

हेटौडा–११ सिमलटारमा उपमहानगरपालिका, खानेपानी तथा सरसफाइ डिभिजन नं. १ र हेटौडा खानेपानी व्यवस्थापन बोर्डबीच त्रिपक्षीय सम्झौता भई बृहत् खानेपानी योजना निर्माणाधीन अवस्थामा रहेको उपमहानगरले जनाएको छ। साभारः थाहाखबर