काठमाडौं – जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
वडा सदस्य मैया नेपालीले आफूलाई जातीय विभेद र छुवाछुत गरेको भन्दै अधिकारीविरुद्ध जाहेरी दिएकी थिइन् । सोही मुद्दामा न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।
जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ बमोजिम अदालतले सजाय तोकेको हो । उक्त ऐनमा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था ऐनमा छ । कसुरदारले पीडितलाई क्षतिपूर्ति समेत भराउनुपर्छ ।
नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा २०७९ पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन् । अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।कांग्रेसका अधिकारी २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमार्फत वडाध्यक्ष चुनिएका थिए ।