काठमाडौं – नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। शनिबार बिहान भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो। नेपालको जितमा प्रतिश जिसीले सानदार बलिङ गरे भने सन्दीप जोराले उत्कृष्ट ब्याटिङ्ग गरे ।
नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक एक विकेट लिए। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे। १६ बल खेलेका उनले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भए। यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए। अस्ट्रेलियका ज्याक हुडले २ विकेट लिए।
पोल ‘बी’ मा रहेको नेपालले यसअघि इङ्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै क्वार्टरफाइनलमा स्थान बनाइसकेको थियो।
नेपाल आफ्नो पोलको शीर्ष स्थानमा रह्यो। शतप्रतिशत जितसहित नेपालले चार अंक जोड्यो। इङ्ल्यान्डलाई पहिलो खेलमा ३४ रनले हराएको अस्ट्रेलियाले पनि क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ।
नेपालले शनिबार नै सेमिफाइनल प्रवेशका लागि श्रीलंकालाई चुनौती पेस गर्नेछ। खेल दिउँसो १:३५ बजे हुनेछ।