चितवन – भरतपुर महानगरपालिका–७, बुद्धचोकस्थित सडकमा लडिरहेको अवस्थमा भेटिएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धचोकमा बस्दै आएकी ३६ वर्षीया रमा थापा रहेकी छिन् ।
बागमती प्रदेश प्रहरीका अनुसार गोरखा नगरपालिका–३, नारेश्वर स्थायी घर भएकी रमा आफ्नो डेराको अगाडि रोडमा लडिरहेको अवस्थामा फेला परेकी थिइन्। उनलाई उनका श्रीमान् रमेश थापाले तत्काल नयाँ मेडिकल कलेज, भरतपुरमा उपचारका लागि लगेका थिए। तर, उपचारकै क्रममा बिहान ९:२७ बजे डाक्टरहरूले उनलाई मृत घोषणा गरे।
अस्पतालको प्रारम्भिक रिपोर्टअनुसार, रमाको अनुहारमा निलडाम देखिएको थियो। रमा मृत्यु सम्बन्धी घटना रहस्यमय देखिएको भन्दै प्रहरीेले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी लाशलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाएको छ। पोष्टमार्टम रिपोर्टले घटनाको वास्तविक कारण पत्ता लगाउनेमा प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार, यो घटना रहस्यमय देखिएको छ। मृतकको श्रीमान्, डेरा धनी र अन्य नजिकका व्यक्तिसँग सोधपुछ भइरहेको छ। घटनास्थल भरतपुरस्थित कार्यालयबाट ४ किलोमिटर पश्चिम पर्ने जनाइएको छ। थप अनुसन्धानको लागि प्रहरी सक्रिय छ।