प्रहर खबर
 २०८१ बैशाख १४, शुक्रबार    

दशैँको टिका थाप्ने क्रम आज तेस्रो दिन पनि जारी

२०७९ आश्विन २१, शुक्रबार ०३:०५ बजे

काठमाडौँ – आज आश्विन शुक्ल द्वादशीका दिन । आज पनि नवदुर्गाको प्रसादस्वरुप बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ ।

टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नसकेकाहरू आज भने राजधानीमा आकाश खुलेकाले बिहानैदेखि हिँड्न थालेका छन् ।

विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएकाले नवदुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद लिन टाढाटाढा आफन्तकहाँ जान कठिन भएको थियो । दुई दिनसम्म हिँड्न नपाएका राजधानीवासीको आज भने आकाश खुलेसँगै बिहानैदेखि चहलपहल देखिएको हो ।