काठमाडौँ – रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।
जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजु लगायत रहेका छन्।
यस्तै, नवराजकी प्रेमिका, उनका भाइ र आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूलाई यसअघि साधारण तारेखमा छोडिएको थियो। घटनामा संलग्न भनिएका ८ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले बताइन् । यसअघि सर्वोच्च अदालतले ८ जनालाई थुनामुक्त गर्ने आदेश दिएको थियो ।
तीन दिनसम्म चलेको मुद्दाको अन्तिम सुनुवाइमा २३ जना वकिलहरूले बहस गरेका थिए। सुनुवाइका क्रममा सरकारी वकिलसहित १८ जनाले वादी (पीडित) तर्फबाट बहस गरेका थिए । त्यस्तै ५ जना निजी वकिलहरूले प्रतिवादी (पीडक) तर्फबाट बहस गरेका थिए ।
अन्तिम सुनुवाइमा बहसका लागि २४ जना वकिलले नाम दर्ता गराएका थिए। तीमध्ये एक जनाले बहस गरेनन्। नाम टिपाएका २४ मध्ये १७ जना वादीतर्फका र ७ जना प्रतिवादीतर्फका थिए।
२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।
२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको सङ्ख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला आएको हो ।