प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

फेसबुकमा ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ रिसोर्टमा सकुशल फेला

२०८२ असार २, सोमबार १४:३९ बजे

फेसबुकमा ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ काठमाडौँको बालाजुस्थित एक रिसोर्टमा सकुशल अवस्थामा फेला परेका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तार्केश्वर नगरपालिका–३ मा रहेको श्रिनाथ बुटिक रिसोर्टबाट सोमबार उद्धार गरेको हो । रामेछाप जिल्ला अस्पतालको निमित्त प्रमुखका रूपमा कार्यरत डा. श्रेष्ठको हालै हेटौँडा अस्पतालमा सरुवा भएको थियो। हेटौँडामा हाजिर हुन भन्दै रमाना लिएर निस्किएका उनी सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए ।

उक्त स्टाटसमा उनले रामेछापमा कार्यरत रहँदा आफूलाई काम गर्न अप्ठेरो बनाइएको भन्दै केही व्यक्तिहरूमाथि गम्भीर आरोपसमेत लगाएका थिए । सोमबार बिहान चाबहिलस्थित गोपिकृष्ण हल नजिकैको डेराबाट बुलेट मोटरसाइकलमा हिँडेका श्रेष्ठले त्यसपछि मोबाइल स्विच अफ गरेका थिए, जसपछि उनको खोजीमा प्रहरी सक्रिय भएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ प्रहरी परिसरको संयुक्त प्रयासमा उनी बालाजुस्थित रिसोर्टमा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले डा. श्रेष्ठलाई सकुशल उद्धार गरिएको जानकारी दिएका छन् । डा. श्रेष्ठ हाल गैँडाकोट, पूर्वी नवलपरासीका स्थायी बासिन्दा हुन् ।