प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुमा कार्यालय सहयोगीको खुर्पा प्रहारबाट वाइबाको मृत्यु

२०८२ असार १४, शनिबार १४:४९ बजे

 

हेटौंडा। मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीमा शनिबार बिहान भएको खुर्पा प्रहारबाट एक स्थानीय पुरुषको मृत्यु भएको छ।

बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कुमार थापाले धारिलो हतियार खुर्पाले आक्रमण गर्दा स्थानीय ५७ वर्षीय रामबहादुर वाइबाको मृत्यु भएको हो।

बेतिनीस्थितमा स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी बाराको निजगढ नगरपालिका–३ सिंगोल बस्ने ३५ वर्षीय कुमार थापाले खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

प्रहरीका अनुसार आक्रमणपछि गम्भीर घाइते वाइबालाई तत्काल बेतिनी स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको थियो, तर उनको त्यहीँ निधन भयो।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्याल का अनुसार घटना भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय फापरवारीबाट प्रहरी निरीक्षक पावल सिंह लामाको नेतृत्वमा टोली खटिएको थियो।

डीएसपी अर्यालका अनुसार गम्भीर घाइते वाइबाको आज बिहान करिब ८ बजे उपचारका क्रममा बेतिनी  स्वास्थ्य चौकीमै मृत घोषणा गरिएको थियो । उनको शव हेटौंडा अस्पताल पठाइएको छ ।

स्वास्थ्य चौकीजस्तो संवेदनशील स्थानमा कार्यरत कर्मचारीबाट भएको आक्रमणले स्थानीय बासिन्दामा त्रास फैलिएको छ।

स्थानीय बासिन्दाहरूले दोषीलाई कानुनी कारबाहीको माग गरेका छन्। टोलीले आक्रमणकारी थापालाई खुर्पासहित नियन्त्रणमा लिएको छ।

घटनाको  कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।